साइलेज

वर्षायाममा वा अन्य समयमा बढी घाँस उत्पादन भएको बेलामा गाईवस्तुलाई खुवाई बाँकी रहेको घाँसलाई कुनै हावा नछिर्ने भाँडो वा खाडल वा जमिनको माथि वा थैलामा गुन्द्रुकझैँ हावा नछिर्ने गरी खाँदेर कम्तिमा पनि १ महिनासम्म  राखेर घाँसपातको  कमि  भएको  वेलामा  पशुवस्तुलाई खुवाउन  तयार भएको खुराकलाई साइलेज भनिन्छ।

साइलेज बनाउने तरीका

साइलेज कति बनाउनू पर्ने हो, आवश्यकता अनुसार खाडलको साइज बनाउनु पर्दछ।खाडलको एक क्युबिक फिटआयतनमा करीब १८ के.जी. साइलेज अटाउने हुँदा सो अनुसार हिसाब गरी खाडलको आकार बनाउनू पर्दछ।साइलेज बनाउनको लागि घासमा ६5 देखि ७० प्रतिशत पानी हुनुपर्दछ।तर वर्षायाममा हुने घासमा लगभग ८० प्रतिशत जति पानी हुने हुनाले घाँसमा पानीको मात्रा

साइलेजको लागि प्रशस्त मात्रामा हुन्छ।कार्वोहाइड्रेड र पानी भएको घाँसेवाली जस्तै मकैज्वारवाजरासुडाननेपियरसेटेरियारोड्स, दिनानाथ, उखुको टुप्पो इत्यादि, अर्थात एक दलिय घाँसेवाली जसको डाँठ अलि मोटो र कडा खालको  हुन्छत्यसलाई  गेडामा दूध पस्ने बेलामा काट्नु पर्छ।ठूलो डाँठ भएका र  गुलियो  पदार्थ  बढी  भएको घाँस साइलेजका लागि अति राम्रो हुन्छन् ।६5 देखि ७० प्रतिशतमा झार्न घासलाई एक दिनभरी ओइलाउनु पर्दछ।ओइलाएको घासलाई ३ देखि ४ इन्चको टुक्रा बनाउनुपर्छ। खाडलको चारैतिर पाएसम्म प्लाष्टिक नभएमा सुकेको घाँसपात केराको पात वा अन्य पात राम्ररी मिलाएर अ‍ोछ्याउनु पर्दछ।

ओइलाएर टुक्रा पारेको घाँसलाई खाडलमा हाल्दै बेसरी भारी चिजले खाद्नुपर्दछ र भरसक त्यसै दिन भरिसक्नुपर्दछ।यदि खाडल एकै दिनमा भर्न सकिएन भने बेलुका काम सकिएपडि खाडललाई प्लाष्टिकले राम्ररी छोपेर राख्नुपर्दछ जसले गर्दा वर्षाको पानी खाडलभित्र पस्न पाउँदैन।खाडल खनेको जमीनको सतहभन्दा २ देखि ३ फिट माथिसम्म खाडलभरी भिरालो बनाएर प्लाष्टिकले छोप्नु पर्दछ।यसरी खाडलको मुखलाई भिरालो बनाउँदा वर्षादको पानी खाडलमा पस्न पाउँदैन।प्लाष्टिक माथि माटोले राम्रोसँग छोप्नुपर्दछ। सम्भव भएमा खाडल माथी छाना बनाएमा वेश हुन्छ।खाडलमा राखी खाँदेको २ महिना पछि साइलेज झिकेर खुवाउन सकिन्छ।यस्तो साईलेजलाई १२ देखि १८ महिनासम्म उपयोगमा ल्याउन सकिन्छ ।

सानो प्लाष्टिक व्यागमा साइलेज बनाउने तरिका

खेतबारी बाट हरीयो घाँस संकलन गरेर ल्याई च्याफ कटरले सानो टुक्रा बनाउनु पर्छ|यसरी टुक्रा पारेको ५ के.जि हरीयो घाँसलाई सानो प्लाष्टिक ब्यागमा प्वाल नपर्ने गरि सावधानी पुर्वक राखेर ब्यागको हावा बाहिर निकाल्न हातले थिच्नु पर्छ ।हावा निस्केपछि प्लाष्टिक ब्यागको घाटि बटारेर कसेर डोरोले बाधनु पर्छ।त्यसपछि प्लाष्टिक ब्यागको मुन्टो तल पटि पारेर पुन अर्को (दोस्रो प्लाष्टिक ब्याग भित्र राखी ब्याग को मुख कसेर बाधनु पर्छ।ब्यागमा हावा छिरेमा साईलेज बिग्रने हुनाले यस्तो संभावना कम गर्न सो ब्यागको मुख तलपटि पारेर फेरी तेश्रो प्लाष्टिक ब्याग भित्र राखी ब्याग को मुख कसेर बाधनु पर्छ। त्यसपछि ति घाँसले भरिएको ब्यागहरुलाई मुसाले नोक्सानि गर्न नसक्ने गरि सुरक्षित ठाउँमा राख्नु पर्छ। यसरी राखेको घाँसको ब्यागमा एक महिना पछि नै साईलेज तयार हुन्छ।साइलेज ब्याग खोल्दा सावधानी पुर्वक खोल्नु पर्छ र दैनिक एक ब्याग साइलेज एउटा दुहुना गाई भैँसीलाई अन्य दानाको साथ खुवाउनु सकिन्छ।दुईवटा प्लाष्टिक ब्याग पुनः साइलेज बनाउन प्रयोग गर्न सकिन्छ।

साइलेजको गुणस्तर थाहा पाउने तरीका

साइलेज तयार भएपछि पशुलाई खान दिदा असल गुणस्तरको भएमा रुचाएर स्वाद मानेर खान्छन् । साइलेजको गुणस्तर त्यस्को रङ्ग, बास्ना, स्वाद र स्पर्शका आधारमा अनुमान लगाउन सकिन्छ ।

१)) रङ्गः साधारणतया साइलेजको रङ्ग फिका पहेलो हुनु राम्रो गुणस्तरको संकेत हो।यदि साइलेजको रङ्ग कालो खैरो वा कालो हरियो पाईएमा कमसल गुणस्तरको भनि बुझिन्छ ।

२) बास्नाः अम्लियपन वा मिठो अमिलो बासना आउने हुनु राम्रो गुणस्तरको संकेत हो।तर गन्हाउने वासना आएमा कमसल गुणस्तरको मानिन्छ ।

३) स्वाद: यदि साइलेजको स्वाद अमिलो वा मुखमा राख्न सकिन्छ भने त्यस्तो साइलेजलाई राम्रो मानिन्छ ।तर साइलेजको स्वाद तितो भइ मुखमा राख्न नसकिने भएमा कमसल गुणस्तरको मानिन्छ।

४) स्पर्स गरेरः साइलेजलाई हातमा राखेर कसेर मुठि पारी खोल्दा बिस्तारै फुटेर दुई टुक्रा बनेमा राम्रो गुणस्तरको मानिन्छ।यदि साइलेज छुट्टिएर सानो सानो टुक्रा बनेमा साइलेजमा पानीको मात्रा कम भएको र यदि पानी चुहिएमा चिस्यानको मात्रा निकै बढि भएको बुझिन्छ।

गाई भैँसीलाई साइलेज खुवाउने तरिका

१. खाडलको एक छेउबाट माटो र प्लाष्टिक हटाउनु पर्दछ।

२. कुहिएको माथिल्लो पत्र फ्याक्नु पर्दछ।

३. प्रत्येक दिन ५ वा ६ इन्च जति साइलेज निकाली सकेपछि पुनः प्लाष्टिकले छोप्नु पर्दछ।

४. बानी नपरेका पशुहरुले सुरुसुरुमा साइलेज त्यति मन लगाएर खाँदैनन् त्यसैले सुरुसुरुमा अलिअलि मात्र दिएर बानी बसाल्नु पर्दछ र पछि रुचाएजति दिन सकिन्छ।

 

 

साइलेजको फाइदा

१) सुख्खा याम अथवा घाँसपातको कमि भएको बेलामा खुवाउन सकिन्छ।

२) हे का लागि उपयुक्त नभएको घाँसपातबाट पनि साइलेज बनाउन सकिन्छ।

३) झारपात पनि साइलेज बनाउन प्रयोग गर्न सकिन्छ तर यो स्वादिलो र राम्ररी पच्ने खालको हुनुपर्छ।

४) लामो समयसम्म (एक वर्षसम्म) संरक्षण गरेर राख्न सकिन्छ।

साइलेज बनाउनका लागि प्रयोग गर्न सकिने घाँसेबालीहरु:बढी कार्वोहाइड्रेड भएका घाँसहरु जस्तैःमकै, ज्वार, वाजरा, सुडान, नेपियरसेटेरियारोड्सदिनानाथउखुको टुप्पो इत्यादिअर्थात एक दलिय घाँसेवाली  प्रयोग गर्न सकिन्छ।ठूलो डाँठ भएका र गुलियो पदार्थ बढी भएको घाँस साइलेजका लागि अति राम्रो हुन्छन्।

साइलेजमा मिसाउन सकिने पदार्थहरु

१) साइलेजमा प्रोटिनको मात्रा बढाउनका लागि कोसेवाली घाँस मिसाउन सकिन्छ।

२) जिवाणुलाई सक्रिय बनाउन अर्गानिक रसायन (Acetic acid, Citric acid, Benzoic acid, Formic acid, Lactic acid, Propanoic acid, Formaldehyde, Ethyl alcohol, इत्यादि) र इनअर्गानिक रसायन (Calcium carbonate, Magnesium carbonate, Ammonium sulphate, Sodium sulphate, Zinc sulphate, Sodium chloride, Sodium nitrate, इत्यादि) अथवा दानामा प्रयोग हुने पदार्थहरु (ब्रानमकैको टुक्रा, स्टार्च, खुँदो, मोही, इष्ट इत्यादि) मिसाउन सकिन्छ।

 

असल साइलेजको गुणहरु

१)   सुनौलो पहेंलो वा खैरो रंगको हुनुपर्छ।

२)   पशुवस्तुले मन पराउने अमिलो वास्ना हुनुपर्छ।

३)   घाँसमा पाइने पौष्टिकतत्वहरु सुरक्षित हुनुपर्छ।

४)   पि.एच. ३.5-४.5 सम्म हुनुपर्छ।

५)   सुख्खातत्व ३०-४० प्रतिशत हुनुपर्छ।

६)   फोहर, ढुसी लागेको हुँनुहुँदैन।

साइलेज खुवाउँदा ध्यान दिनु पर्ने कुराहरु

शुरुमा थोरै थोरै मात्रामा दाना मिसाई खुवाउनुपर्छ।बानी परेपछि ८-१० के.जी. सम्म प्रति पशु/ प्रति दिन खुवाउन सकिन्छ।युरिया वा अन्य पदार्थ मिसाइएको साइलेजलाई आधा घण्टा जति छहारीमा फिँजाएर मात्र खुवाउनुपर्छ|यसो गर्नाले एमोनिया उडेर जान्छ।नराम्रो वास्ना भएको साइलेजमा मोलासेस (खुँदो) मिसाई खुवाउनु पर्छ।दूध दुहिसकेपछि मात्र साइलेज खुवाउनुपर्छ, अन्यथा दूधमा साइलेजको वास्ना मिसिन जान्छ र दूध गन्हाउँछ।प्रत्येक पटक साइलेज झिकिसकेपछि साइलेज झिकेको ठाउँलाई हावा नछिर्ने गरी छोपी बन्द गर्नुपर्छ।

वालीको उपपदार्थको संरक्षण

हिमाली क्षेत्रमा खेतीयोग्य जमिन सीमित मात्रामा भएपनि बर्षायाममा लगाइएको अन्न वाली एवं यसको उप—पदार्थहरु जस्तै, पराल, गहुंको भुसा, कोदोको नलगहुँको नलमकैको ढोड, मकैको खोसेलाबोडीभटमास आदिको कुनौरोलाई राम्रोसँग भण्डारण र संरक्षण गर्न सके हिउँदको समयमा आहरा आपुर्ति गर्न सकिन्छ ।

 

श्रोत:

नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय पशु बिज्ञान अनुसन्धान प्रतिष्ठान, पशु आहारा महाशाखा, खुमलटार, ललितपुर; पशु आहारा सम्बन्धि कृषकहरुका लागि व्यावहारिक जानकारी

नेपाल कृषि अनुसन्धान परिषद्, कृषि अनुसन्धान केन्द्र (बाख्रा) छाप, बन्दीपुर, तनहूँ; उन्नत बाख्रा पालन

भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु सेवा तालिम केन्द्र, गण्डकी प्रदेश, पोखरा; व्यावसायिक गाई भैंसी पालन हाते पुस्तिका