खनिज ढिक्का (Mineral Block)

उग्राउने पशुहरुलाई चटाउने युरिया मोलासेस ब्लक र विभिन्न मिनरल मिसाई तयार गरिएको ईट  आकारको ब्लकलाई युरिया मोलासेस  मिनरल ब्लक (UMMB) भनिन्छ।घाँसको अभाव भएको समयमा र  खासगरी हिउँदे सुख्खा याममा (पौष देखि बैशाख सम्म) उग्राउने पशुहरु जस्तैःगाईभैंसीतथा भेंडा  बाख्राहरुलाई आहाराको कमी हुने गर्दछ।यस समयमा पराल, नलछ्वालीकुनौरो तथा ढोड जस्ता कम  पौष्टिकतत्व हुने आहारा खुवाउने गरिन्छ जसमा पशुलाई आवश्यक पौष्टिकतत्वहरुको मात्रा एकदमै कम  हुन्छ। यस्ता आहाराबाट पशुहरुमा दूध तथा मासुको उत्पादन घट्दछ।यस कमिलाई पूरा गर्न बैज्ञानिक रुपमा तयार गरिएको UMMB को प्रयोग गरी कृषकले बढी भन्दा बढी फाईदा लिन सक्दछन्।

युरिया मोलासेस मिनरल ब्लॉक चटाउनाले के फाइदा हुन्छ ?

(क) उग्राउने पशुहरुको पेटमा रहेको जीवाणुहरुका लागि आवश्यक थप शक्तिप्रोटिन र खनिज लवण UMMB ले प्रदान गर्छ र फलस्वरुप यी जीवाणुहरुको संख्यामा व्यापक वृद्धि हुन्छ।

(ख) यी जीवाणुहरुले रेशादार घाँसपात पचाउने इन्जाइम उत्पादन गर्दछनजुन ईन्जाइमले सुख्खा घाँस  पराल जस्ता आहारालाई सजिलै पचाउँछ र फलस्वरुप दूध र मासुको उत्पादन बढ्छ।

(ग) कुनै  खास  समय  पछि  पेटमा  भएका  जीवाणुहरु  मर्छन् र आन्द्रामा पुग्छन् जहाँ यी  जीवाणुहरु पचेर पशुलाई उच्च गुणस्तरको प्रोटिन तथा मिनरल उपलब्ध गराउँछन।

(घ) कृषकको पशुवस्तुमा गरेको अनुसन्धानबाट दैनिक २० देखि २५ प्रतिशत सम्म दूध उत्पादन  बढेको र करिब १५ प्रतिशत सम्म चिल्ला पदार्थ बढेको पाइएको छ।

(ङ) बढेको दुधको विक्रीबाट कृषकले दैनिक २० देखि ४० रुपैयाँ सम्म आम्दानी बढाएको पाइएको छ।

(च) मासुको हकमा पालिने पशु (भैंसी तथा खसी) को २१ प्रतिशतले शारीरिक वृद्धि भएको पाइएको छ ।

(छ) बाली नजाने वा ढिलो बाली जाने पशुमा बाँझोपना हटाई सन्तान उत्पादनमा उल्लेख्य वृद्धि भएको पाइएको छ ।

मिनरल ब्लकको उपयोग कसरी गर्ने ?

(क) परालढोडनल जस्ता सुख्खा आहारा पशुले खान सकेजति खान दिनुपर्छ ।

(ख) हरियो घाँस उपलब्ध भएमा आवश्यक कुल सुख्खा पदार्थको एक चौथाई भाग खुवाउनु पर्छ।

(ग) पशुको शारीरिक तौलको एक प्रतिशतले हुने तौल बराबरको दाना खान दिनु पर्छ।

(घ) UMMB लाई चाट्ने भाँडोमा राखी करिब ३०० ग्राम प्रति दिनका दरले चाट्न दिनु पर्छ।

(ङ) पशु वस्तुलाई मिनरल खुवाएको बेलामा पानी प्रशस्त पिउन दिन पर्छ।

 

 स्रोत :नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय पशु बिज्ञान अनुसन्धान प्रतिष्ठान, पशु आहारा महाशाखा, खुमलटार, ललितपुर; पशु आहारा सम्बन्धि कृषकहरुका लागि व्यावहारिक जानकारी

भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु सेवा तालिम केन्द्र, गण्डकी प्रदेश, पोखरा; व्यावसायिक गाई भैंसी पालन हाते पुस्तिका