घाँस संरक्षणका उपायहरु / हिउँदका लागि पशु आहाराको व्यवस्थापन :

वर्षामा प्रसस्त मात्रामा हरियो घाँस उपलब्ध भएपनि हिउँदमा सुक्खा हुनाले अभाव हुन्छ।तसर्थ वर्षातको समयमा प्रशस्त मात्रामा उपलब्ध हुने घाँसलाई हे तथा साईलेज बनाएर सम्रक्षण गरी राख्न सकिन्छजसले हिउँदका लागि पशु आहाराको समस्या समाधान गर्न ठूलो सहयोग पुर्‍याउँछ।

हे (सुकाएको घाँस) उत्पादन

बर्षामा बढी भएका हरियो घाँसपातहरुलाई कलिलो र पौष्टिक तत्व बढी भएको अवस्थामा काटेर त्यसको  पौष्टिकतामा नाश नहुने गरी सुकाएर संरक्षण गरिएको घाँसलाई हे भनिन्छ।घाँसमा भएको पौस्टिक  तत्वका साथसाथै हरियोपना खेर नजाओस् भन्ने उदेश्यले छहारीमा सुकाईन्छ।

हे बनाउदा ध्यान दिनुपर्ने मुख्य कुराहरु

१.नरम र कमलो डाँठ भएको घाँस छनोट गर्नुपर्ने हुन्छ।

२.घाँस काटने उपयुक्त समय पनि विचार गर्नु पर्दछ।यसका लागि अलिअलि फुल्न लागेको बेलामा काट्नु उपयुक्त  हुन्छ।               

      

 

माथि चित्रमा घाँसमा पाइने पौष्टिक तत्व, घाँसको उत्पादन, पौष्टिक तत्व र घाँस उत्पादनमा रहेको सम्बन्ध, र हे बनाउनको लागि उपयुक्त समय देखाएको छ।

३.घाँस छिप्पिदै जाँदा उत्पादन बढ्छ तर गुणस्तर (पौष्टिक तत्व) घट्दै जान्छ।काटेको हरियो घाँसलाई पानी नपर्ने र कडा घाम नलाग्ने ओभानो ठाउँमा सुकाएर थन्काउनु पर्छ र अवश्यकता अनुसार एकतर्फ बाट मात्रै झिकेर ख्वाउनु पर्छ।

 

हे बनाउनको लागि उपयुक्त घाँसहरु:

हे बनाउनको लागि पातलो डाँठ भएका खास गरेर कोसे तथा अकोशे घाँसहरु (जस्तै जै,बर्सिम,लुसुर्न,बाडी, सिमी) र अकोशेवाली घाँसहरु(जै,पारा,राइग्रास,कक्सफुट आदि)तथा स्थानीय नरम घाँसहरु उपयुक्त मानिन्छन्।व्यवसायिक फार्ममा यस्ता घाँसहरुको खेति गरीन्छ।

 

व्यावसायिक फार्ममा हे बनाउने तरिका

क) वर्षायाम वा हिउँदमा पाइने हरियो घाँसलाई अलिअलि फुल्न लागेको बेलामा काट्नुपर्छ।

ख) काटेको घाँसलाई ३ देखि ४ दिन घाममा सुकाउनुपर्दछ।दिनको ३-४ पटक सुकाएको घाँसलाई ओल्टाई पल्टाई गर्नुपर्दछ।यसले दुवैतिर राम्रोसँग सुक्ने हुन्छ।

ग) घाँसमा पानीको मात्रा १ देखि २० प्रतिशत भएपछि हे तयार हुन्छ।

घ) तयार भएको हे हरियो रंगको र मिठो बास्नायुक्त हुनु पर्दछ।हे हरियो भएमा क्यारोटिन नामक तत्व पाइन्छ जसबाट शरीरमा भिटामिन ए आपूर्ति हुन्छ।

ङ) तयार भएको हेलाई संकलन गरी बिटा बाधेर सुरक्षितसाथ भण्डारण गर्नु पर्दछ।

 

 

गाउँघरमा हे बनाउने तरिका

श्रावण देखी असोज सम्म प्रसस्त मात्रामा घाँस पाईने हुनाले सो अवधीमा गाई भैँसी पनि चिल्ला र स्वस्थ देखिन्छन्।तर फेरी जाडो मौसम सुरु भएपछि पुन आहाराको कमि हुन जान्छ र त्यस्तो मौसम अनुसारको आहारा उपलब्धताको खाडललाई हे बनाएर पुर्ति गर्ने चलन छ।नेपालको उच्च पहाडि भेगमा घाँस बढि उत्पादन भएको बेलामा संकलन गरी घाममा सुकाएर हे बनाउने चलन छ।घासको संकलन मंसिर महिनामा गर्ने चलन भएकोले त्यसबेलामा घाँस छिपिएर सुकिसकेको हुन्छ।त्यसकारण यस किसिमले बनाएको हे पराल जस्तै हुन्छ र धेरै मात्रामा पौष्टिक तत्व नास भएको हुन्छ।आफुलाई घाँस सुकेको लागेपछि हे लाइ पराल जस्तै गरी रुखमा टौवा बनाई राख्ने चलन छ।हे बनाउने घाँसलाई फूल फुल्ने समयमा नै संकलन गरी हे बनाएर राख्न सकेमा पौष्टिक तत्व नास हुन पाउँदैन र पोसीलो हे गाई भैँसीलाई उपलब्ध हुन्छ।

 

हे बनाउँदा ध्यान दिनु पर्ने कुराहरु  :

क) हे मा १ देखि २० प्रतिशत मात्र पानीको मात्रा हुनुपर्दछ।हे बढी सुक्यो भने घाँसपात धूलो हुने र पात झर्ने भई पशुहरुले खान रुचाउदैनन्।२० प्रतिशतभन्दा बढी पानीको मात्रा रहेमा ढुसी लाग्ने हुन्छ।

ख) बिउ वा दाना लागिसकेको घाँसबाट हे बनाउदा घासमा पौष्टिक तत्व ज्यादै कम हुन्छ।

ग) हे सुकाउदा एकापट्टी मात्र धेरै बेरसम्म सुकायो भने पातहरु झर्छन्।घाँसको डाँठमा भन्दा पातमा बढी पौष्टिक तत्व पाइने हुदा पातलाई झर्नबाट बचाउन दिनको ३ देखि ४ पटकसम्म पल्टाउनु पर्दछ।

 

असल हे को गुणहरु

१) हे जहिले पनि हरियो रंगको, पात सहित हुनु पर्छ।यदि हे हरियो छ भने यसले हे मा पौष्टिक पदार्थ बढी मात्रामा भएको संकेत दिन्छ।

२) हे नरम र स्वादिलो हुनु पर्छ पशुवस्तुले मन पराउने हुनुपर्छ।

३) हे मा प्रोटिन(४-१०%)भिटामिनमिनरलको र सुख्खा पदार्थ(८०-९०%) उपयुक्त मात्रामा हुनुपर्छ ।

४) हे मा धुलो र ढुसी परेको (Aflatoxin) हुनुहुँदैन।

५) अनावश्यक झारपात भएको हुनुहुँदैन।

६) हे को वास्ना मन पर्ने खालको हुनुपर्छ।

७) हे मा पाच्य पदार्थ 5०-55% सम्म हुनुपर्छ।

 

हे को फाइदाहरु:

१) हिउँद महिनामा घाँसपातको अभाव हुने बेला घाँसको कमीलाई पुरा गर्न सकिन्छ।

२) गाई वस्तुले सुख्खा याममा हरियो घाँसको अभावमा दुब्लाउने भएकोले सो अवस्थामा सुधार ल्याउन सकिन्छ।

३) दुधालु पशु वस्तुबाट उत्पादित दूधमा कमी आउन दिँदैन जसले गर्दा कृषकले आर्थिक लाभ लिन सकिन्छ।

४) दानामा खर्च हुने रकमलाई वचत गर्न सकिन्छ।जसले यसको उत्पादन लागत कम हुन सक्छ।

 

 

श्रोत:

नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय पशु बिज्ञान अनुसन्धान प्रतिष्ठान, पशु आहारा महाशाखा, खुमलटार, ललितपुर; पशु आहारा सम्बन्धि कृषकहरुका लागि व्यावहारिक जानकारी

नेपाल कृषि अनुसन्धान परिषद्, कृषि अनुसन्धान केन्द्र (बाख्रा) छाप, बन्दीपुर, तनहूँ; उन्नत बाख्रा पालन

भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु सेवा तालिम केन्द्र, गण्डकी प्रदेश, पोखरा; व्यावसायिक गाई भैंसी पालन हाते पुस्तिका