आहारा व्यस्थापन

माउ ब्याउने बित्तिकै माउको दुग्ध ग्रन्थिहरुले बिगौती पैदा गर्छ। असली बिगौति (True Colostrum) पहिलो पटक दूध दुहुदा वा चुसाउदा मात्र प्राप्त हुन्छ। पहिलो पटक दूध दुहे पछि तेश्रो दिन सम्म दुहुने दूध लाई बोलीचालीमा बिगौति दूध भनेपनि यसलाई टूान्जिसन दूध (Transition milk) भनिन्छ किनभने यस्मा पाईने पौष्टिक तत्व पहिलो पटक दुहेको दूध को भन्दा निकै कम हुन्छ।भखर जन्मेका पशुको बच्चा को लागि सबै भन्दा उत्तम आहार आमाको दूध हो। दुधमा शरीरलाई चाहिने मात्रामा पौष्टिक तत्वहरु पाइन्छ। साधारणतया एक महिनासम्म उनीहरुको शारीरिक तौलको दश भागको एक भाग दूध खुवाउनु पर्दछ।दुई हप्ता माथिकाले घाँस खान थाल्छन्, घाँस खाँदा पशुको आमाशय (रुमेन) को विकास राम्रो हुन्छ। त्यसपछि बिस्तारै पशुको आहारमा सन्तुलित आहारको मिश्रण गर्नुपर्छ।

सन्तुलित आहारा र यसको महत्व :

सन्तुलित आहारा भन्नाले पशुहरुलाई आवश्यक पर्ने कार्बोहाइड्रेड, प्रोटिन, बोसो, भिटामिन, खनिज पदार्थ र पानीको दैनिक माग पूर्ति हुने गरी विभिन्न खाद्यवस्तुको ठीक परिमाण र अनुपातको खुराकलाई बुझाउँछ।

१)   शारीरिक र मानसिक विकास गर्न सहयोग पुर्‍याउँछ।

२)   शरीरलाई आवश्यक शक्ति पुर्ति गर्छ।

३)   शरीरको तापक्रम नियन्त्रण गर्छ।

४)   शरीर भित्रका कोषको क्षय तथा संक्रमणबाट बचाउन सहयोग पुर्‍याउँछ।

 

सन्तुलित दानामा प्रयोग हुने पदार्थहरु:

१)   अन्नवाली: मकै, गहुँ, जै, जौ, कोदो, चामल इत्यादि।

२)   अन्नवालीका उपपदार्थः ढुटो, चोकर आदि।

३)   तेलहन वालीको पिनाहरु: सूर्यमूखीको पिना, तोरीको पिना, तिलको पिना आदि।

४)   दलहन दालको गेडागुडी: भटमास, भटमासको पिना तथा अन्य दलहन, चुन्नी।

५)   पशुजन्य पदार्थहरु: माछाको धुलो, हरिको धुलो, ब्लडमिल, भिटामिन आदि।

६)   अन्यः मोलासेस, मिनरल, भिटामिन आदि।

यदि पशुहरुलाई मौसम अनुसारको घाँस खुवाउने गरिएको छ भने खनिज पदार्थ र भिटामिनहरु धेरै हदसम्म घाँसबाटै प्राप्त हुन सक्छ। शक्तिका श्रोतहरु तथा नून गाउँ घरमै सजिलैसँग पाउन सकिन्छ। कहिले मकै वा चोकर मात्रै त कहिले पिना मात्रै खुवाएमा फाइदाजनक हुँदैन। त्यसैले मकै, चोकर,  ढूटो  र  गहुँ  जस्ता  शक्तिका  श्रोतहरु  तीन  खण्डको  दुई  खण्ड  र प्रोटिनका श्रोतहरु तीन खण्डको एक खण्ड मिसाएर घरमा नै सन्तुलित दाना बनाउन सकिन्छ। यदि १०० के.जी. दाना बनाउन छ भने करिब ६0 देखि ७० के.जी. मकै,चोकर,  ढूटो, गहुँ र ३० देखि ३५ के.जी. पिना, दाल वा दालको चोकर राम्ररी मिसाउनु पर्दछ। यो १०० के.जी. मिश्रणमा १ के.जी. नून पनि मिसाउनु पर्दछ ।

सन्तुलित दानाको मात्रा

दाना कति दिने भन्ने कुरा पशुको अवस्था, उमेर, शारीरिक तौल र उत्पादनमा भर पर्दछ। त्यसैले व्याउने र लैना पशुहरुलाई धेरै दाना दिनु पर्दछ भने थारो अवस्थाका लागि केही थोरै भए पनि हुन्छ। तर पनि उत्पादन हेरी गाइवस्तुका लागि दिनको १-५ के.जी. सम्म प्रति दिनको  दरले दिन सकिन्छ।

 

श्रोत:

नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय पशु बिज्ञान अनुसन्धान प्रतिष्ठान, पशु आहारा महाशाखा, खुमलटार, ललितपुर; पशु आहारा सम्बन्धि कृषकहरुका लागि व्यावहारिक जानकारी

भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु सेवा तालिम केन्द्र, गण्डकी प्रदेश, पोखरा; व्यावसायिक गाई भैंसी पालन हाते पुस्तिका